गजल
गजल
- भानुभक्त बिष्ट
माया दिनेलाई
उसैगरी माया दिनुपर्छ
टेकेर उसकै पाइलामा पाइताला उभिनुपर्छ ।
छापिएर के पो हुन्छ चुच्चे नक्सा कागजमा
साँचो अर्थमा देश छातीभित्र छापिनुपर्छ ।
स्वतन्त्रताको पनि निश्चित् सीमा हुन्छ, बुझ
के थाहा चङ्गालाई कुन बेला चुँडिनुपर्छ ।
बुझेको हुँ भर्सेलोमा माया अधकल्चिएपछि
पक्वान्न पाक्न बिँड हैन ताप्के तातिनुपर्छ ।
निगरानी राख्छौ रे जासूसी सिसिटिभीजस्तो
जान्दैनौ कि फुटेजहरूले पनि मेटिनुपर्छ ।
भन्छन् भन्नेहरू – प्रेम र ज्ञान गहिरो सागर हो
सिकाउँदैनन् यसमा डुब्नुपर्छ कि तैरिनुपर्छ ।
कति लेख्नु अभाव र अशान्तिको कथा अब
सुख र समृद्धिको नयाँ गीत रचिनुपर्छ ।।
समाप्त ।

Comments
Post a Comment